बच्चा जन्माउने योजनामा हुनुहुन्छ? के के कुरामा ध्यान दिनुपर्ला ? अवश्य पढ्नुहोला

यदि तपाईं बच्चा जन्माउने सोचमा हुनुहुन्छ भने प्रथम त तपाईं आफू हेल्दी हुनु पर्यो बाकी कुरा तल पढ्नुहोला ।

हामी बच्चा जन्माउने योजनामा छौं, के- के कुरामा ध्यान दिनुपर्ला ? विवाहित दम्पत्तीले सन्तानको तयारी गर्नुअघि योजना बनाउनुपर्छ । हाम्रो समाजमा गर्भवती भएपछि एकैपटक डाक्टरकोमा जँचाउन जाने चलन छ । तर, सन्तानको योजना बनाउनुअघि नै दम्पतीहरु चिकित्सकको परामर्शमा आउनु राम्रो हो । सहरी क्षेत्रकै जनमानसमा पनि यसबारे त्यत्ति सचेतना देखिँदैन । बिनातयारी गर्भवती हुँदा आमा र शिशुको स्वास्थ्यमा कतिपय अवस्थामा जटिलता देखिन सक्छ । स्वास्थ्य परीक्षणपछि आधारभूत प्रक्रिया पु¥याएर गर्भवती हुँदा यस्ता जटिलता कम गर्न सकिन्छ।

सन्तानको योजना बनाउनुअघि आएका दम्पतीहरुलाई हामीले केही महत्वपूर्ण सुझाव दिने गरेका छौंँ । शुरुमा हामीले दुवैको ‘हेल्थ हिस्ट्री’बाट उनीहरु र परिवारका सदस्यमा केही समस्या भएरनभएको सोधीखोजी गर्छौं । गर्भवती हुनुअघि महिलाको शरीरमा कुनै समस्या रहेछ भने परीक्षणबाटै थाह हुन्छ । परीक्षणका क्रममा महिलामा केही ‘क्रोनिक इल्नेस’ देखिन सक्छ । उदाहरणका लागि उच्च रक्तचाप, मधुमेह, मिर्गौला या मुटुसम्बन्धी कुनै रोग भए/नभएको पत्ता लगाउन सकिन्छ । तर, यस्ता रोग देखिएका महिलाहरु गर्भवती हुनु हुँदैन भन्ने कुरा होइन । यस्ता समस्या भए सतर्कता अपनाउन सकिनेतर्फ चिकित्सकहरुले सुझाव दिनेछन्।

सर्वप्रथम गर्भवती हुन चाहने महिलाको स्वास्थ्य परीक्षण गरिन्छ । मोटोपन भएकाहरुले तौल घटाएर मात्रै गर्भवती हुन उपयुक्त हुन्छ । किनभने मोटो अवस्थामा गर्भवती हुँदा गर्भ खेर गइरहने सम्भावना रहेकाले तौल घटाउन सल्लाह दिइन्छ । ज्यादा दुब्लो महिलाहरुमा ‘एनिमिया’ हुन सक्छ । आवश्यक सन्तुलित आहार नपुगेको भए त्यसतर्फ ध्यान दिनुपर्छ । त्यस्ता महिलाहरु गर्भवती भएमा बच्चाको तौल कम हुने, महिना नपुगी व्यथा लाग्ने हुन सक्छ । एनिमिया भएका महिलालाई तत्काल गर्भवती हुने योजना नबनाउन चिकित्सकको सल्लाह रहन्छ । तीन–पाँच महिनामा तौल सन्तुलनमा राख्न र त्यसपछि मात्रै गर्भवती बन्न भनिन्छ।

नियमित परीक्षणहरु

थाइराइड, डाइबिटिज भएका महिलाहरुले पनि बच्चा जन्माउन सक्छन् । त्यसका लागि उपचारबाट रोगको अवस्था घटाएपछि मात्र गर्भवती बन्नुपर्छ । कुनै व्यक्तिको परिवारमा वंशाणुगत कारणले शारीरिक अपांगता वा विकलांगता भए÷नभएको सोधखोज गरी भविष्यमा त्यसले कत्तिको समस्या ल्याउने सम्भावना छ भनी हेरिन्छ । कतिपय महिलाको तत्काल गर्भवती हुनै नसक्ने स्थिति आउँछ । हामीले जाँच गरेर उनीहरु कुन स्थितिमा छन् भने पत्ता लगाउने कोसिस गर्छौं।

डाइबिटिजको परीक्षण

हरेक महिना डाक्टरहरुलाई भेटेर कुनै जटिलता नआओस् भनेर ध्यान दिइन्छ । २४ देखि २८ हप्ताको बीचमा ग्लुकोजको टेस्ट गरिन्छ । रगतमा सुगरको मात्रा परीक्षण गर्न उत्तिकै आवश्यक छ । कतिपय महिलामा डाइबिटिजको सम्भावना रहन्छ । कुनै महिलाको बाबुआमामा डाइबिटिज छ भने गर्भवती बन्नुअघि सुगर परीक्षण गर्दा राम्रो हुन्छ । गर्भवती डाइबिटिजको रोगी नभए पनि गर्भवती भएकै कारण डाइबिटिजको समस्या हुन सक्छ, जसलाई ‘जेस्टेस्नल डाइबिटिज’ भनिन्छ । बच्चा जन्मिएपछि डाइबिटिज हटेर जान्छ । सामान्यतया ६ महिनाको अवधिमा ग्लुकोज परीक्षणपछि डाइबिटिज देखिएमा डाइबिटिज विशेषज्ञको परामर्शमा औषधिहरु दिने गरिन्छ।

ब्लड ग्रुपबारे जानौँ

गर्भवती हुन चाहनेको स्वास्थ्य परीक्षणका क्रममा रगतमा हेमोग्लोविनको परीक्षण आवश्यक छ । कथंकदाचित एनिमिया देखिएमा त्यसको उपचार गरेर मात्रै गर्भवती बन्नुपर्छ । रगत परीक्षण गरेर श्रीमान्–श्रीमतीकै ‘ब्लड ग्रुप पोजेटिभ’ छ भने समस्या हुँदैन तर आमाको ‘नेगेटिभ’ र बाबुको ‘पोजेटिभ’ छ भने कहिलेकाहीँ समस्या आउन सक्छ ।

यस्तोमा पहिलोपटक गर्भवती हुँदा खासै फरक पर्दैन, तर पहिलोमा केहीगरी पोजेटिभ ब्लड गु्रप भएको बच्चा जन्मिएको छ भने अरु बच्चाहरु खेर गइरहने समस्या आउन सक्छ । त्यसका लागि एउटा इन्जेक्सन दिनुपर्ने हुन्छ । बाबुको नेगेटिभ तर आमाको पोजेटिभ ब्लड ग्रुप छ भने फरक पर्दैन । किनकि आमाले नै बच्चा जन्माउने भएकाले नेगेटिभ ब्लड गु्रपको आमाले पोजेटिभ ब्लड ग्रुप भएको बच्चा जन्माएमा मात्र समस्याको सम्भावना रहने हो । गर्भवती भइसकेपछि डाक्टरकहाँ परीक्षणमा जाने क्रममा प्राय सबैले एउटै खालका परीक्षण गराएका हुन्छन् । जस्तैः एचआइभी, हेपाटाइटिस, थाइराइड, सुगर, हेमोग्लोविन आदि।

थाइराइडको परीक्षण

अहिलेको अवस्थामा महिलालाई थाइराइड परीक्षण गराउनुपर्छ । आजभोलि कतिपय महिला शुरुमा गर्भवती भइसकेपछि मात्रै आफूलाई थाइराइड देखिएको भन्दै उपचारका लागि आउने गर्छन् । बच्चाको मस्तिष्कको विकासमा आमाको थाइराइडको महत्वपूर्ण भूमिका हुन्छ । ‘हाइपो–थाइराइडिज्म’ अर्थात् सामान्य अवस्थाको भन्दा कम थाइराइड उत्पादन भएका महिलाहरुको बालबालिकामा मस्तिष्कको पर्याप्त विकास नहुन सक्छ । तर, गर्भवती हुनुअघि नै त्यस्तो देखिएमा औषधि दिएर उनीहरुलाई सामान्य अवस्थामा ल्याउने कोसिस गरिन्छ र त्यसपछि मात्रै गर्भवती बन्न सल्लाह दिइन्छ।

सप्लिमेन्टहरु

गर्भवती हुने योजना बनाएका महिलालाई केही ‘सप्लिमेन्ट’ दिने गरिन्छ । अनिवार्य रुपमा फोलिक एसिड दिइन्छ । गर्भवती हुनुभन्दा एक महिना अघिदेखि नै यसको सिफारिस गर्ने प्रचलन छ । फोलिक एसिडले बालबालिकामा ‘न्युरेटिक डिफेक्ट’ हुन नदिन महत्वपूर्ण भूमिका खेल्छ । बच्चाको टाउको, स्पाइनल कर्ड नबन्ने, कर्डको पछाडी ट्युमरजस्तो देखिने समस्या हुन दिँदैन । साथै विभिन्न खालका भिटामिनहरु दिन आवश्यक छ । सबै खालका भिटामिनहरु सन्तुलिन रुपमा दिन सकियो भने बच्चा विकलांग हुने सम्भावनालाई घटाउँछ । पहिलो तीन महिनापछि आइनर र क्याल्सियमको सप्लिमेन्ट पनि दिइन्छ । यी दुवै ९ महिनासम्मै दिइन्छ।

डा अमृता गिरी, स्त्रीरोग तथा प्रसुति विशेषज्ञ, नर्भिक अस्पताल

तपाइको Comments तल लेख्नुस